२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

विष्णु ‘माझी’ को स्वेच्छिक ‘गुप्तवास’ कि बाध्यता ?

dailykhabarnp.com

सालको पात टपरी हुनी, नहुनी सल्लैको

तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको…

विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो ।

गीतले डेढ करोड भ्युज कटाएपछि केही दिनअघि ‘सेलिब्रेसन’ कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा गीतसँग प्रत्यक्ष/परोक्ष गाँसिएका सबै उपस्थित थिए, सिवाय गायिका विष्णु माझी ।

कार्यक्रम आयोजकले विशेष कारणले विष्णु कार्यक्रममा आउन नसकेको स्पष्टीकरण दिए, उनको अनुपस्थिति अपेक्षित नै थियो । झण्डै डेढ दशकदेखि लोक गायनमा सक्रिय यी प्रख्यात गायिका आजसम्म एकपटक पनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

विष्णुलाई आफ्नै श्रीमानले बन्धक बनाएर राखेका छन् भन्ने चर्चा चल्न थालेको लामो समय भयो । यो चर्चा सत्यसँग नजिक छ वा छैन भन्नेचाहिँ आजसम्म रहस्यमै छ ।

गुमनाम जीवन

अहिले एक–दुईवटा गीत हिट हुनासाथ गायक–गायिकाहरुलाई स्वदेश तथा विदेशका कार्यक्रमहरुमा निम्तो आउन थाल्छन् । चलेका गायक–गायिकाहरुका लागि त विदेश यात्रा पानी पँधेरो धाएजत्तिकै हुन्छ । यस हिसाबले सयौं हिट गीत दिएकी विष्णु पनि देश–विदेशका कार्यक्रममा व्यस्त रहनुपर्ने हो ।

तर, उनले अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छैनन् । स्वदेशकै मेला–महोत्सवमा पनि उनी पुग्दिनन् । जब कि उनको सबैतिर चर्को डिमान्ड छ ।

अहिलेकी नम्बर १ लोकगायिका मानिने विष्णु रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी छन् । उनीसँग एउटा मोवाइल पनि छैन । गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् । घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन् ।

सामाजिक सञ्जालमा उनको नामोनिशान छैन । आजसम्म एकचोटि पनि सञ्चारमाध्यममा आएकी छैनन् उनी ।

सानातिना कलाकारको पनि इन्टरभ्यू छ्याप्छ्याप्ती भेटिने समयमा उनको एउटै इन्टरभ्यू कतै भेटिँदैन । यति मात्रै होइन, विष्णुको नयाँ तस्वीर नै नआएको धेरै भयो । उनले गाएका गीतहरुमा एक दशक पुरानो एउटै तस्वीर प्रयोग भइरहेको हुन्छ ।

काठमाडौंमा उनी कहाँ बस्छिन्, कसैलाई थाहा छैन । थाहा हुनेहरु पनि बताउन चाहँदैनन् । स्याङ्जास्थित माइतीघरमा पनि उनी नपुगेको धेरै भइसकेको बताइन्छ ।

कर्णप्रिय स्वरकी धनी गायिकाको फ्यान फलोइङ भने ठूलो छ । यूट्यूवमा विष्णुका गीतमा कमेन्ट गर्ने धेरैले उनको वास्तविक अवस्थाका बारेमा जिज्ञासा राखिरहेका हुन्छन् । उनलाई मिडियामा आउन फ्यानहरुले निरन्तर आग्रह गरिरहेका छन् ।

विष्णुको सांगीतिक यात्रा

स्याङजाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु परिवारकी जेठी छोरी हुन् । सामान्य पशुपालन र खेतिमा निर्भर उनको परिवारलाई वर्षमा ६ महिना पनि पेटभर खान पुग्दैनथ्यो ।

स्थानीय विद्यालयमा ५ कक्षासम्म पढेपछि परिवारले खर्च अभावले गर्दा बिद्यालयबाट निकाल्नुपरेको थियो । उनी सानैदेखि लोकगीतको सोखिन थिइन् र स्वर पनि मीठो थियो ।

विष्णुलाई १३ वर्षको उमेरमा पाल्पाको रामपुरका लोकगायक नारायण लेकालीले संगीतमा ल्याएका हुन् । रामपुर र चापाकोट खोला वारिपारि पर्छ, बीचमा झोलुंगे पुल छ ।

कुरा ०५८ सालको हो । नारायण त्यतिबेला लोकगीत प्रतियोगिताहरुमा भाग लिन्थे र आफैं पनि प्रतियोगिता गराउँथे । त्यसै क्रममा उनले चापाकोटमा एउटा प्रतियोगिता आयोजना गरेका थिए, जसमा भाग लिन आएकी थिइन् विष्णु । उनी प्रतियोगितामा प्रथम भइन् ।

‘मलाई पहिलोचोटि नै उनको स्वरले क्लिक गर्‍यो, यिनले भविश्यमा केही गर्छिन् भन्ने लाग्यो,’ नारायण त्यतिबेलाको क्षण सम्झिन्छन्, ‘त्यसैले सांगीतिक प्रतियोगिताहरुमा आफ्नो जोडी बनाएर भाग लिने निर्णय गरेँ ।’

उनले विष्णुका बाबुआमासँग छोरीलाई गायिका बनाइदिने भन्दै आफ्नो साथमा पठाइदिन आग्रह गरे । बाबुआमा तयार नहुने कुरै थिएन । विष्णु पनि गायिका बन्ने भनेर फुरुङ्ग बनिन् ।

आफूले विष्णुसँग दोहोरी गाएर थुप्रै प्रतियोगितामा भाग लिएको र पुरस्कार जितेको नारायण बताउँछन् । पहिलोपटक उनीहरुले बुटबल महोत्सवमा गाएर दोस्रो भएका थिए ।

त्यसपछि पाल्पा महोत्सवमा आयोजित प्रतियोगितामा प्रथम भए । यो ०६१ सालको कुरा हो ।

सोही प्रतियोगितामा भाग लिन आएका थिए पोखरेली लोकगायक सुन्दरमणि अधिकारी । उनले कुनै पुरस्कार जित्न सकेनन् । विष्णुको स्वर सुनेर सुन्दरमणि मोहित भए ।

विभिन्न दोहोरी प्रतियोगिताहरुमा भाग लिँदै आए पनि उनी खासै सफल हुन सकेका थिएनन् । विष्णुसँग जोडी बनाएर गाउन पाए आफू पनि सफल हुन्थेँ भन्ने मोह उनलाई जाग्यो । नारायणसित उनको पुरानो चिनजान थियो । उनले नारायणलाई आफ्नो आफ्नो इच्छा प्रकट गरे ।

‘मैले उसको आग्रह टार्न सकिनँ र विष्णुको परिवारलाई मनाएँ,’ नारायण भन्छन् ।

त्यसपछि सुन्दरमणिले ०६१ साल वैशाख ७ गते एक हप्ताका लागि भनेर लेखनाथ महोत्सवमा विष्णुलाई लिएर गए । नभन्दै उक्त महोत्सवमा आयोजित लोकगीत प्रतियोगितामा सुन्दरमणि र विष्णुको जोडी पहिलो भयो ।

‘एक महिनापछि उनीहरु घर फर्किएछन्, तर एक रात पनि नबसी फेरि हिँडेछन्, मसित भेटै भएन,’ नारायण भन्छन् । त्यसपछि सुन्दरमणिले विष्णुलाई काठमाडौं लिएर गएको उनी बताउँछन् ।

लेखनाथ महोत्सवमा भाग लिनु अगाडि नै विष्णुको स्वर रेकर्ड भइसकेको थियो । भगवती न्यौपानेको लय संकलन तथा प्रजापति पराजुलीको शब्द रहेको ‘आमाले अर्ति दिने घर जाने बेला..’ बोलको गीत ०६० सालतिर पोखराको फेवा स्टुडियोमा रेकर्ड भएको थियो ।

विष्णु काठमाडौं आएपछि प्रजापति र नारायणले बारम्बार सम्पर्क गर्न खोज्दा पनि सकेनन् ।

त्यसको करिब डेढ वर्षपछि ०६३ सालमा आयोजित बुटबल महोत्सवमा विष्णुलाई नारायणले भेटे । उनी सुन्दरमणिसँगै त्यहाँ दोहोरी प्रतियोगितामा भाग लिन आएकी थिइन् भने नारायण निर्णायकको भूमिकामा थिए । त्यहाँ भेट भए पनि नारायणको विष्णुसित खासै कुरा भएन ।

बरु आफूले एक हजार रुपैयाँ भाडा दिएर उनीहरुलाई नाइट गाडी चढाइदिएको नारायण बताउँछन् । त्यसयता उनको विष्णुसित कहिल्यै भेट भएको छैन ।

रिमोट सुन्दरमणिका हातमा !

सुन्दरमणिले विष्णुलाई आफ्नो जोडी बनाएर व्यवसायिक लोकगायनमा लगाए । बिहे नगरे पनि उनीहरु काठमाडौंमा सँगै बस्न थाले ।

उनीहरुले गाएका केही गीत हिट भए । टिपिकल लोक दोहोरीमा फिट हुने विष्णुको स्वरको बजारमा खोजी हुन थाल्यो । उनलाई त्यतिबेला चलेका बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना बिरही थापा, शर्मिला गुरुङहरुको विकल्पका रुपमा हेर्न थालियो ।

२५ सय मात्र पारिश्रमिक लिने उनी धेरैको रोजाइमा पर्न थालिन् । धेरैतिरबाट कार्यक्रमका लागि अफरहरु आउन थाले । तर, गीत रेकर्डिङका लागि स्टुडियो जानेबाहेक विष्णु कुनै सार्वजनिक कार्यक्रममा गाउन गइनन् ।

०६४ सालसम्म उनी चर्चाको शिखरमा पुगिसकेकी थिइन् । उनी दैनिक ५–६ वटा गीतमा स्वर भर्न भ्याउँथिन् । उनीसँग काम गर्न चाहनेले सुन्दरमणिमार्फत डिल गर्नुपर्थ्यो/पर्छ ।

सफलतासँगै सुन्दरमणिले विष्णुको रेट बढाउँदै लगे । अहिले त उनी सर्वाधिक महंगी लोकगायिका कहलाउँछिन् ।

२०७८ भाद्र १०, बिहीबार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार