२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

प्र,काश सपूतः परदेशमा ज,न्मिए, गोठमा हुर्किए र जीव,नको धुन खोजे…

dailykhabarnp.com

औसत मान्छेको चोलामा यस्तो स्थिति रहरलाग्दो हुन्छ, जब सिर्जना र श्रमले एक अटुट लय बनाउँछ । अनि त्यही लयमा जीवन-भोगाइका सुदूर क्षणहरू कथानक धुन बनेर गुञ्जन्छ । प्रकाश सपूतको हकमा आज यस्तै भइरहेको छ ।

चार वर्षअघि फर्किएर हेर्दा उनीसँग के थियो ? न प्रसिद्धि, न वैभव । उनले टेकेको धरातल साँघुरो थियो । त्यहाँ अभावको चाङ थियो । दैनिक आवश्यकता पूर्ति गर्न वैदेशिक रोजगारीमा जाने कि रुमानी सपनाको पछाडि दौडिने ? दोबाटोमा निरुत्तर उभिएको थियो, जीवन ।

गरीब हुनु, अनि दलित पनि । अभाव हुनु, अनि ‘अछूत’ पनि । नियतिको यो थिचोमिचोलाई उनले धैर्यपूर्वक सहेनन् मात्र, त्यसका अनुभूतिहरूलाई जतनसाथ सँगाल्दै गए । त्यही अनुभूतिहरू आज उनका लागि सिर्जनाको अविराम स्रोत बनेको छ ।

हाम्रो जिज्ञासा थियो, ‘तपाईंले जति पनि संगीत-रचना गर्नुभएको छ, ती आपसमा पृथक् छन् । पृथक् भएर पनि विशेष छन् । जसै ती गीत-संगीत सार्वजनिक हुन्छन्, समाजमा राम्रै हल्लीखल्ली मच्चाउँछन् । कसरी यस्तो संभव भएको छ ?’

शुरुमा उनी मुसुक्क हाँसे । अनि केही गम्भीर भाव-मुद्रामा सुनाए, ‘आज मैले जति पनि संगीत-रचना गरिरहेको छु, त्यो सबै मेरो जीवन-भोगाइका प्रतिबिम्ब हुन् । हिजो भोगेका सुख-दुःखलाई आज म आफ्नो रचना मार्फत व्यक्त गरिरहेको छु ।’

यसो भनिरहँदा उनी नोस्टाल्जिक हुनपुग्छन् र सुदूर अतीतमा र्फकन्छन् । अनि कुनै चिन्तकले झैं सुनाउँछन्, ‘मैले बाँचेको समय आफैंमा अद्भुत लाग्छ मलाई । मेरो पुस्ताले जस्तो जीवनको अनेक उतार-चढाव शायदैले भोग्छन् होला । समाजको अनेक रंग शायदैले देख्छन् होला ।’

प्रकाश विस्तारमा यसो भन्छन्, ‘गाउँघरका मान्छेहरू भेला भएर रेडियो सुन्ने, अर्काको घरमा लुकेर टिभी हेर्ने जमानामा हुर्कियौं । हाम्रै पालामा रेडियो आयो, एफएम आयो । टेलिभिजन आयो । ब्ल्याक एन्ड हृवाइट टेलिभिजनमा रंगीन पेपर राखेर हेर्नुपर्ने । हिरो-हिरोइनको पोस्टकार्ड टाँस्ने, शुभकामना आदानप्रदान गर्नुपर्ने । भाँती पुर्‍याएर चिठी लेख्नुपर्ने । भित्ते-पत्रिकाको चलन चल्यो । अक्षरहरू खिप्न थालियो । पहिलो पटक गाउँमा गाडी कुदेको हेरेर रमायौं । एक घण्टासम्म हिंडेर डोजरले बाटो खनेको हेर्न पुग्यौं । हामीले समयका यी अनेक रूपरेखा देख्न पायौं । मैले समाजको त्यो अँध्यारो रंग पनि देखेको छु । अनि क्रमशः त्यसमा भएका परिवर्तनको साक्षी हुँ । मलाई त यस्तो लाग्छ, मेरै समयमा मान्छेहरूको उत्पत्ति भएको हो ।’

समाजका अवयवसँग यति अभिन्न रूपमा जोडिएका कारण उनको संगीत रचनामा रैथाने स्वाद भेटिन्छ । सफलताको परिसूचकले मात्र होइन, सिर्जनाको गुणवत्ताले पनि उनलाई खास बनाएको छ ।

‘बोल माया’ देखि ‘कुरा बुझ्नु पर्च’ सम्म आइपुग्दा के देखिन्छ भने, उनले लहडमा गीत मात्र गाइरहेका छैनन् । एक विशिष्ट शैलीको संगीत-रचना गरिरहेका छन् । त्यसमा लालित्य पोतेर चोटिलो ढंगले सामाजिक मुद्दा छेडिरहेका छन् ।

जीवन-संगीतको धुन

तीज मेलामा गीत गाउँदै प्रकाश सपूत

करीब तीन वर्षअघि सार्वजनिक भएको ‘बोल माया’ गीतले प्रकाशलाई ‘स्पटलाइट’मा अवतरण गरिदियो । त्यसपछि उनी यत्रतत्र-सर्वत्र छाए ।

यो वियोगान्त गीतको खाका उनले आफ्नै बुवाको कथाबाट तयार गरेका थिए, जसले आफ्नो सम्पूर्ण बैंस वैदेशिक रोजगारीमा खर्चिए । वृद्धा बुवाआमाको उपचार गर्ने, कलिला लालावालालाई शिक्षा-दीक्षा दिने, नवजवान श्रीमतीको ओंठमा खुशी ल्याउने सपना बोकेर घर-आँगन छाडेका थुप्रै युवा निर्जीव बनेर कफिनमा र्फकन्छन् । नेपाली समाजको यही परिबन्दलाई प्रकाशले मर्मस्पर्शी शब्द र भाकामा उतारे । गीतको अन्त्यमा प्रयुक्त विलौना भाका उनले आफ्नै हजुरआमाबाट लिएका हुन् ।

प्रकाशले हामीलाई सुनाए, ‘म काठमाडौंमै हराइरहेको थिएँ । उता हजुरबा बित्नुभयो । हजुरबा भजन गाउनुहुन्थ्यो रे ! हजुरबाको मलामी जान पाइएन । अर्को दिन म घरमा पुगें । पुग्नासाथ, हजुरआमाले अँगालोमा हालेर रुनुभयो । यसरी रुँदा उहाँले भाका हालेर केही पंक्तिमा आफ्नो गुनासो पोख्नुभयो । हाम्रोतिर मान्छे मर्दा त्यसरी नै भाका हालेर रुने गरिन्छ । ‘हजुरबालाई गीतमा खेलाउँछु भन्थिस्, तर पाइनस्’ भन्ने खालको कुरालाई लय मिलाएर उहाँले रुनुभयो । मैले ‘बोल माया’ गीतको क्लाइमेक्समा त्यही भाका, शैलीलाई उतारें ।’

गीतको भिडियो उनले आफ्नै गाउँको सेरोफेरोमा छायांकन गरे । भिडियोमा देखिने अधिकांश अनुहार उनकै गाउँले दाजुभाइ हुन् ।

दैनिक आवश्यकता पूर्ति गर्न वैदेशिक रोजगारीमा जाने कि रुमानी सपनाको पछाडि दौडिने ? दोबाटोमा निरुत्तर उभिएको थियो, जीवन ।

प्रकाश आफ्नो गाउँ-समाजसँग अत्यन्तै निकट छन्, आभारी पनि । संगीत-रचनामा उनले आफ्नो गाउँको स्वाद मिसाउने गर्छन् । उनी गाउँमुखी सर्जक हुन् । जबकि हिजो उनका लागि यो गाउँ-समाज त्यति हार्दिक थिएन । ‘हामी सबैभन्दा निम्न स्थानमा थियौं । साथीभाइको घरमा पस्न हामीलाई छुट थिएन, आफ्नो जुठो आफैंले पखाल्नुपथ्र्यो’ प्रकाश सुनाउँछन्, ‘हामी निम्न वर्ग हौं भन्ने मनोविज्ञान जन्मजात विकास भएछ ।’

प्रकाशलाई याद छ, उनीहरूलाई मूलघरबाट छुट्याएर गोठमा सारिएको थियो । त्यहीं गाईबस्तु बाँध्ने र त्यहीं उनीहरूले खाने-बस्ने । बुवा वैदेशिक रोजगारीका लागि मलेशियामा । एक्ली आमाले हुर्काउनुपर्ने साना लालाबाला ।

बेसुर बाल्यकाल

उनका पुर्खाको एउटै इलम थियो, आरन । गाउँघरका हँसिया, कचिया बनाइदिने । अनि त्यसबापत गाउँ-छिमेकबाट अन्नपात उठाउने । यसरी अन्न उठाउन जाँदा अर्काको घरभित्र पस्न नपाइने । ढोका बाहिर बसेर हात फैलाउनुपर्ने । आफूले जुठो बनाएको भाँडावर्तन त्यतिकै छाड्न नमिल्ने । पखालेर राखिदिनुपर्ने । उनको बाल्यकालको जीवन-भोगाइ यस्तै थियो ।

प्रकाश प्रदेशमा जन्मिए, दिल्लीको आजितपुरमा । रोजगारी खोज्दै बुवा त्यता पसेका थिए । उतै घरजम भयो । पछि नेपालबाट प्रकाशका हजुरबा दिल्ली पुगे । छोरोलाई घर फर्काए ।

तर, बुवाआमाले प्रकाशलाई बाग्लुङको घरमा लगेनन् । मामाघरमा छाडिदिए । ‘गाउँमा दुःख छ’ बुवाहरू यसै भन्थे । उनी बुटवलकै मामाघरमा बसेर पढ्न थाले । आठ वर्षको उमेरपछि भने प्रकाशलाई गाउँ पुर्‍याइयो ।

बटौली (बुटवल)बाट आएको फुच्चे, अलि झिल्के पनि । गाउँमा दौंतरीहरूमाझ उनी चाख र रहस्यको विषय बने । उनीहरू चकित भावमा भन्थे, ‘यसले शहर देखेको छ रे, यसले गाडी चढेको छ रे’ । खुला आकाशमा उड्ने चरा जस्तै उनी उमंगले नाच्न थाले । शुरुआती दिनहरू रमाइलो-घमाइलो भयो ।

किशोरवयमा विद्यालयको पोशाकमा प्रकाश सपूत

तर, केही समयपछि हजुरबाले मूल घरबाट निकालेर उनको परिवारलाई गोठमा सारे । घरको गर्जो टार्न बुवा विदेशिए । तब प्रकाशका दुःखका दिनहरू शुरु भए ।

‘गोठको आधा भागमा गाई-भैंसी बाँधिन्थ्यो, आधा भागमा हामी बस्थ्यौं’ प्रकाश सुनाउँछन्, ‘मेलापात गएर एक्ली आमाले हामीलाई हुर्काउनुपर्ने ।’

केही समयअघि मात्र प्रकाशले आमालाई भनेछन्, ‘सानो छँदा अरूले ज्यानको दुःख पाए, हामीले चाहिं मनको दुःख पायौं है आमा ।’ अरुको खेतीबाली थियो । प्रशस्तै जग्गाजमीन थियो । उनीहरूलाई खान-लाउनको अभाव थिएन । तर, शारीरिक काम गर्नुपथ्र्यो । अन्नबाली लगाउनु, उठाउनु, बस्तुभाउ चराउनु आदि गर्नुपर्ने । प्रकाशको परिवारसँग खासै जायजेथा थिएन । त्यसैले ज्यानको काम गर्नु परेन । तर, अभाव र दुःखले भने कहिल्यै छाडेन ।

धर्तीमा उज्यालो खस्न नपाउँदै बिहान ४ बजे प्रकाश पनि घाँस, दाउरामा जान्थे । जंगल धेरै टाढा थियो । दाउराको भारी ल्याएर घर आइपुग्दा बिहानको ९ बजेको हुन्थ्यो । हतार-हतार हात-मुख धोएर, भात खाएर विद्यालय जानुपर्ने ।

विद्यालय पुग्न अरु ४५ मिनेट हिंड्नुपर्ने । १० कक्षासम्म पढ्दाको नियमित दैनिकी यस्तै थियो ।

‘त्यसलाई दुःख भनौं वा सुख ?’ प्रकाश भन्छन्, ‘किनभने आज सम्झँदा त्यही दिनहरू बढी रमाइलो लाग्छ ।’

अपहेलना सहँदै, अभाव झेल्दै

गाउँको सबैभन्दा माथिल्लो भागमा क्षेत्री बाहुन बस्ने । मध्य भागमा मगर । अनि सबैभन्दा फेदीमा दलितहरू । त्यहाँ स्पष्ट तीन तह थियो । ‘हामीलाई जन्मजात अभ्यस्त गराइयो कि हामी तल्लो जात हौं, हामीले छोएको मगरले खाँदैनन्, बाहुनहरूले खाँदैनन् । उनीहरूको मूल ढोका हाम्रो निम्ति खुला छैन’ प्रकाश सुनाउँछन् ।

भर्खरै मात्र उनले आमासँग यस्तै विषयमा कुराकानी गर्दा आमा भन्दै थिइन् रे, ‘तेरो बाले हामीलाई बिहे गरेर ल्याएको । अनि हजुरबाले बाली उठाउन पठाउने । चाडपर्वको बेला हामी क्षेत्री-बाहुन वा मगरहरूको घरको बाहिर बसेका हुन्थ्यौं, बाली पर्खेर । उनीहरू भित्र टन्न भोज खाइरहेका हुने । हामी झोला बोकेर, ढोका कुरेर माग्न बस्थ्यौं । अनि उनीहरूले ‘फलानो आयौं, लु यो अन्न लैजाउ’ भन्थे । त्यसबेला त हामीलाई केही लाग्दैनथ्यो, अहिले सम्झँदा कस्तो लाज लाग्ने ।’

गरीबी कतिसम्म निर्दयी हुन्छ भने यसले एउटा परिवारलाई एकसाथ बस्ने र खाने छुट पनि दिंदैन । गरीबीले लखेटेपछि बुवा विदेशिए । १८ वर्षको किशोरवयमा उनी काम खोज्दै भारत पसे । त्यसपछि मलेशिया । उमेरले ५० वर्ष टेकेपछि मात्र उनले सन्तोषको सास फेर्न पाए । वैदेशिक रोजगारीबाट विश्राम पाए ।

‘नियतिले नै हामीलाई ठगेको थियो’ प्रकाश सुनाउँछन्, ‘हामीमा जन्मजात नै यस्तो मानसिकता विकास भयो कि हामी भनेका साना जातका हौं । अर्काको पराल बोक्न जानुपर्ने । पराल बोकेर ल्याइदियो । अनि अरू भित्र पसेर खाजा-खाना खाने, हामी बाहिर नै बस्नुपर्ने । बाहिर बसेर खायो अनि भाँडा पनि माझिदियो ।’

रौसे मान्छे

गरीबी थियो । अभाव थियो । दुःख थियो । तर, जीवनको त्यो अँध्यारो रंगमा उनी सप्तरंगी सपना सजाउँथे । नाचगान गर्नु, नक्कल पार्नु, ख्यालठट्टा गर्नु उनको मूल स्वभाव भइदियो । गाउँघरमा कुनै भोज-भतेर, बिहे कार्जे भएमा को नाच्ने ? कसले गाउने ?

पहिलो नाम आउँथ्यो, ‘प्रकाश ।’

उनलाई हिरो बन्न मन लाग्थ्यो । घरको भित्तामा हिरोको पोस्टर टाँस्थे । टाउकोमा रुमाल बाँध्थे । हिरोको नक्कल गर्थे । यसले उनलाई विस्तारै कलाकारितामा डोर्‍याउँदै लग्यो ।

पछि उनी बाग्लुङको स्थानीय ‘धौलागिरी एफएम’मा कार्यक्रम चलाउन थाले । त्यहाँ उनले चलाउने कार्यक्रम थियो, जस्ट फर यु । त्यसमा उनी आफैं नाटक लेख्थे, प्रस्तुत गर्थे । मिक्सिङ गर्ने, रेकर्डिङ गर्ने सबै काम उनी आफैं गर्थे ।

सोही बखतको एउटा घटनाले उनलाई बारम्बार कोट्याउँछ । उनी सुनाउँछन्, ‘त्यसबेला एउटा दलित र गैर दलित जोडीले भीरबाट हाम फालेर आत्महत्या गरे । दलित केटी र श्रेष्ठ थरका केटाको प्रेमलाई उनीहरूका परिवारले अस्वीकार गरेपछि आत्महत्या गरेका रहेछन् । यही सन्दर्भलाई जोडेर आत्महत्याअघि उनीहरू कस्तो मनोदशामा गुजि्रए होलान् भन्ने मनोवाद लेखें । त्यसलाई नाटकमा उतारंे । त्यो औधी हिट भयो । अहिले पनि कतिपयको मोबाइलमा यो नाटकको अडियो सुरक्षित होला ।’

रेडियो प्रस्तोताको रूपमा उनी स्थानीय माझ चिनिए । यसले उनमा नामको भोक अरू जगाइदियो । तर, रहरको फेरो समाएर उड्ने कसरी ? बाध्यताको भारीले जीवन जो थिचिरहेको छ ।

कतार जान सेक्युरिटी गार्डको तालिम

विदेशमा हाड-छाला घोटेपछि बुवा घर फर्किए । अब परिवारको जिम्मेवारी प्रकाशको काँधमा आइपर्‍यो । के गर्ने ? कहाँ जाने ? बाटोहरू साँघुरो थियो । आखिरमा उनले पनि त्यही गर्नुपर्ने भयो, जुन बुवाले गरेका थिए । अर्थात् प्रकाश पनि कतार जनुपर्ने भयो ।

पासपोर्ट बनाए । बाटो खर्च बोकेर काठमाडौं हिंडे । अनि सुरक्षा गार्डको तालिम लिए, २५ दिनको । तालिमपछि अन्तर्वार्ताको पालो आयो । अन्तर्वार्ताका लागि आएका एक अरबीले अंग्रेजीमा भने, ‘तिमी धेरै सानो भयौ ।’ उनी असफल ठहरिए । प्रकाशको लागि यो खुशीको कुरो थियो ।

प्रकाशसँग त्यसबेला गोजीमा पाँच हजार रुपैयाँ थियो, सर-सापट गरेको । १५ सय रुपैयाँ आउ-जाउमा खर्च भयो । बाँकी पैसाले उनले पुस्तकहरू किने, छानीछानी । अनि घर फर्किए ।

तर, घरमा गएर के गर्ने ? जीवन चलाउने कुनै मेलोमेसो छैन ।

उनी पुनः काठमाडौं आए । एउटा होटलमा डेरा जमाए । काम खोज्न थाले । पैसा रित्तिंदै गयो । काम पाउने छाँट छैन । गाउँकै एक साथीको कोठा थियो, उनी त्यहीं बस्ने निधो गरे । तर, साथीले अर्को साथी लिएर बस्न थालेछन् ।

होटलको बास लम्बियो । चिनेजानेकै साथीको होटल थियो । त्यहाँ उनले होटलको काममा सघाउनुपर्ने भयो । उनले खाना दिने, जुठो भाँडावर्तन उठाउने काम गरे ।

संयोगले उनले एउटा काम पाए, गामबेंसी दोहोरीमा । त्यहाँ तलब थोरै तर, टिप्स पाइने । राम्रो त के भइदियो भने उनको महीनापिच्छे तलब बढ्दै गयो ।

गामबेंसी दोहोरीको शाखा खुल्ने भयो दुबईमा । उनी दुबई पुगे । तीन महीनासम्म गीत गाएपछि उनी नेपाल फर्किए । बिहे गरे । फेरि दुबई गए । तर, बिहे गर्नासाथ विदेशिनु पर्दा उनी खिन्न थिए । उनी विदेशमा टिक्न सकेनन् । घर फर्किए ।

फेरि उही दुःख । उही अभाव । उही संघर्ष । भाग्यवश भेटिए, पृथ्वी थकाली । उनी प्रकाशका लागि देवदूत समान भए । प्रकाशलाई उनले ‘पृथ्वी इन्टरटेनमेन्ट’मा सम्मिलित गराए । पृथ्वी थकाली एकदमै मनकारी । उनको साथ लागेपछि प्रकाशलाई सानोतिनो खर्चको अभाव भएन ।

यतिबेलासम्म उनले केही गीत रेकर्ड गराइसकेका थिए । एकाध गीत राम्रैसँग चलेको थियो । यसैबीच उनले र्‍याप ब्याटलको अवधारणा सोचे । यो दोहोरीकै प्रारुपमा थियो । यसमा पनि दोहोरीमा जस्तो सवाल जवाफ हुन्थ्यो । उनले दोहोरी र ब्याटलको फ्युजन गरेर गीत निकाले ।

अपेक्षाकृत यो गीत रुचाइयो । त्यसपछि उनले ‘बोल माया’ तयार गरे । यो त्यही बिन्दु थियो, जहाँबाट उनले नेपाली संगीतमा लामो छलाङ मारे ।

प्रकाश एक आयाम

प्रकाश सपूत के हुन् ? आम जवाफ हो, गायक । तर, यसको पछाडि उनको अरू थुप्रै परिचय लुकेको छ । जस्तो कि, उनी गीतकार हुन् । उनले गाएका अधिकांश गीतको शब्द उनैले कथेका हुन् । त्यसमा भाका हाल्ने काम पनि उनैले गरेका हुन् ।

अक्सर आफ्नो गीतको भिडियो उनी स्वयम् तयार गर्छन् । त्यसको निर्देशनदेखि कोरियोग्राफीसम्म भ्याउँछन् । अभिनय त उनको लक्ष्य नै हो ।

यी अनेकमा एक हुन्, प्रकाश सपूत ।

सानो छँदा उनी सोच्थे, ‘हिरो बन्न पाए हुन्थ्यो ।’ तर, जुन धरातलमा उभिएर यस्तो परिकल्पनामा सयर गर्थे, त्यसबखत त्यो हाँसउठ्दो र अपत्यारिलो थियो । किनभने जीवन उनले सोचे जस्तै सरल थिएन । त्यो अनेक आरोह-अवरोहबाट गुज्रँदै वक्ररेखामा घिस्रन्थ्यो । जबकि ती सारा प्रतिकूलतामा पनि उनले आफ्नो धैर्य गुमाएनन्, आफ्नो लक्ष्यबाट हटेनन् । निरन्तरको प्रयास, कठोर संघर्ष र दृढ आत्मविश्वासले अन्ततः उनलाई त्यही मोडमा ल्याइदियो, जो हिजो उनको सपना थियो ।

‘आज म आफूले चाहेको गर्न सक्छु, बन्न सक्छु’ यसो भनिरहँदा प्रकाश अरु बढी दृढ देखिए । जबकि यसमा उनको दम्भ होइन, आत्मविश्वास प्रगाढ थियो । अब उनले चाहेमा हिरो बन्न सक्छन्, सिनेमा बनाउन सक्छन् ।

हो पनि, प्रकाश सपूत सिनेमा बनाउँदैछन् र त्यसमा आफूलाई पेश गर्दैछन् । ‘स्क्रिप्ट तयार गरिसकें’ प्रकाश भन्छन्, ‘त्यो मेरो जीवनकै एउटा विराट अंश हो ।’

दुई/तीन वर्षभित्र स्क्रिप्टमा रहेर सिनेमा निर्माण गर्नुपर्ने अवस्थामा छन् उनी । किनभने तीन/चार वर्षपछि समयले उनको रुपरंग यति नै सग्लो राख्नेवाला छैन । त्यसैले प्रकाश हतारोमा छन्, सिनेमा निर्माणका लागि ।

त्यसपछि उनले एउटा पुस्तकको खाका तयार गरेका छन् । ‘यिनै सपनाले मलाई सुत्न दिंदैन’ प्रकाश भन्छन्, ‘हरदम जाग्राम राख्छ ।’

२०७८ आश्विन २, शनिबार प्रकाशित 1 Minute 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार