२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

बजार नपाएको भन्दै – किसानले उखेलेर फाले ‘काउली’

dailykhabarnp.com

निषेधाज्ञाका कारण बारीमा भएको उत्पादनले बजार नपाएको भन्दै मकवानपुरका किसानले सयौं किलो काउली उखेलेर फालेका छन् । काठमाडौंको बजारलाई लक्षित गरेर फलाइएको काउली नबिकेपछि उखेलेर अर्को बाली लगाइएको मकवानपुर थाहा नगरपालिका किसानले बताए ।

साढे दुई रोपनी खेतमा लगाइएको काउली नबिकेपछि उखेलेर फालिएको थाहा नगरपालिका ६ बज्रबाराहीकी किसान निर्मला बिडारीले अनलाइनखबरलाई बताइन् । काउली उखेलेर फालिएको र खेतमा अकबरे खुर्सानी लगाइएको बिडारीले बताइन् ।

यसअघिको लकडाउनमा किसानको तरकारी बजारसम्म आउनै समस्या हुँदा बिग्रिएको चक्र यसपटक भने उपभोक्ताले खपत नगरिदिँदा प्रभावित भएको कालिमाटीका व्यवसायीहरुले बताएका छन् ।

कालीमाटी बजारमा लामो समयदेखि तरकारीको होलसेल व्यवसाय गरिररहेका योगेन्द्र ढुंगानाका अनुसार तरकारीको औसत मूल्य अहिले कालीमाटी बजारमा २० देखि २५ रुपैयाँ प्रतिकिलो मात्रै छ ।

साता दिनअघि मात्रै ७० रुपैयाँ किलोमा हारालुछ हुने तरकारी अहिले २० रुपैयाँ किलोमा बिक्री गर्न मुश्किल भएको उनले बताए । भारतीय तरकारीको सिजन सकिएर नेपाली तरकारी भित्रिन सुरु हुने बित्तिक्कै तरकारीको मूल्य अवमूल्यन हुन सुरु भएको उनले बताए ।

‘खासगरी काउली, बन्दा, गोलभेंडा, करेला, लौका जस्ता स्थानीय उत्पादन निषेधाज्ञाको मारमा परेका छन्, बजारमा सस्तोमा बिक्री गर्दा पनि सामान कटाउन कठिन भएको छ’, उनले भने ।

कालिमाटीको हबिगत देखेर किसानले हामी गाडिमा तरकारी पठाइदिन्छौं जतिमा बिक्छ बेच्नुस्, नबिके फ्याल्दिनुस् भनेर फोन गरे पनि लिन नसकिएको व्यवसायी ढुंगानाले बताए ।

बजारमा तरकारी खरिद गर्न आउनेहरूको चाप सामान्य अवस्थाको तुलनामा ५० प्रतिशतले ओरालो लाग्दा तरकारीको आयात पनि सोही अनुसार खुम्चिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

निषेधाज्ञा अघि र त्यसको केही दिनसम्म दैनिक ९ सय टन तरकारी बजार भित्रिएकोमा अहिले सो परिमाण चार सय टनमा झरेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘बजारमा बिक्री नै छैन, केही दिनयता तरकारीको आयात दैनिक चारदेखि साढे चार सय टनको हाराहारी मात्रै छ,’ श्रेष्ठले भने । बिक्री घटेसँगै बजारमा आएका तरकारी बिक्री नहुने समस्याले मूल्यमा निकै गिरावट आएको उनले बताए । सामान्य अवस्थामा भन्दा तरकारीको मूल्य ७० प्रतिशतसम्मले घटेको उनको भनाइ छ ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित 1 Minute 674 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार